माघ ७: जिम्मेवार निकायको लापर्बाही कारण पत्रकार एलबी विश्वकर्माको निधन भएको भन्दै युनिमी नेपालले घटनाको छानबिन गर्न माग गरेको छ । निरन्तर काममा क्रियाशील पत्रकारले पर्याप्त उपचारको अभावमा जीवन गुमाउने अवस्था आउनु आफैमा लज्जाजनक र दुःखद भएको युनिमीको ठहर छ ।
सञ्चार‚ मनोरञ्जन र कला क्षेत्रमा काम गर्ने सबै प्रकारका श्रमिक र पत्रकारहरुको अन्तर्राष्ट्रिय साझा संस्था युनिमीका अध्यक्ष गोविन्द धितालले शुक्रबार (आज) वक्तव्य प्रकाशित गर्दै अछाम घर भई हाल काठमाडौँमा रहेर टिभी टुडेमा कार्यरत पत्रकार विश्वकर्माको बिहीबार उपचार नपाएर निधन भएको खबरले आफूलाई मर्माहत बनाएको उल्लेख गरेका छन् ।
‘बिरामी भएपछि सिभिल अस्पतालमा गएको‚ अस्पतालले पिसिआर गर्नका लागि एक हजार रुपैयाँ मागेको तर पैसा नभएकाले पिसिआर नगरी घरमा फर्किएको र राती स्वास्थ्य अवस्था थप जटिल भएपछि पाटल अस्पताल लागिएकोमा त्यही उहाँको निधन भएको घटनाले उहाँको निधनमा अस्पताल र उहाँ कार्यरत सञ्चार गृहको बेवास्ता तथा लापर्बाही स्पष्ट हुन्छ‚’ वक्तव्यमा लेखिएको छ ।
उनको निधनका बारेमा विभिन्न कोणबाट प्रश्नहरू उठेकाले तत्काल निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न र आगामी दिनमा यस्ता घटना नदोहोरिने सुनिश्चितता गर्न पनि युनिमी नेपालले सरोकारवाला सबैसँग माग गरेको छ ।