मोरङमा ३० वर्षीया महिलामाथि सामूहिक बलात्कार, अवस्था गम्भीर

माघ ९ : मोरङको सुन्दरहरैचा नगरपालिका ४ बलियामा एक महिलामाथि सामूहिक बलात्कार भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङ स्रोतका अनुसार शुक्रबार साँझ इटहरीबाट बहिनीको घर गछिया जाँदै गरेकी ३० वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको हो । प्रहरीले घटनामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । दुई जना फरार छन् ।

घटना के थियो ?

मोरङ प्रहरी स्रोतका अनुसार बेलबारी नगरपालिका(४ की ३० वर्षीया महिला शुक्रबार साँझ कामबाट गछियास्थित बहिनीको घर फर्कदै थिइन्। इटहरीबाट बस चढेर ६ बजे गछियासम्म पुगएकी उनले बहिनीको घरसम्म पुग्ने बाटो भने बिर्सीइन्।

बाटोमा भेटिएका रामबहादुर नेपालीले भन्नेलाई पीडित महिलाले बाटो सोधिन् । रामबहादुरले बहिनीको घरसम्म पुर्‍याइदिने भन्दै प्रदेश २-०१-००१ च २२७ नम्बरको गाडीमा चढाए ।

तर उनले गाडी घुमाउँदै सुन्दरहरैचा-४ बलियामा रहेको श्रेष्ठ होटल एण्ड फेमिली लजमा लगे । सोही लजमा ती महिलामाथि रातभर सामूहिक बलात्कार भएको प्रहरीको भनाइ छ ।

बलात्कृत महिलाको अत्यधिक रक्तश्राव भएका कारण अवस्था गम्भीर छ । उनलाई कोसी अस्पताल विराटनगरमा भर्ना गरेर उपचार जारी रहेको छ।

प्रहरीका अनुसार घटनामा संलग्न भएका होटल सन्चालक ३६ वर्षीय अर्जुन श्रेष्ठ र सोही होटलमा काम गर्ने आरती श्रेष्ठलाई पक्राउ गरेको छ ।

बलात्कारको घटनामा संलग्न भएको भनिएका २७ वर्षीय मनोज श्रेष्ठ र झापा घर भएका रामबहादुर नेपाली फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।