कोरोना सङक्रमण बढेसँगै कारागारमा उच्च सतर्कता

माघ १० : कोरोना सङ्क्रमण बढेसँगै कारागार कार्यालय भरतपुरमा उच्च सतर्कता अपनाइएको छ । कारागार प्रशासनले कोरोना सर्न सक्ने देखिएको भन्दै कैदीबन्दीलाई आफन्तसँग भेटघाट बन्द गरेको छ ।

कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार भेटघाटका क्रममा कोरोना फैलन सक्ने भन्दै बन्द गरिएको हो । क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्दा समस्या आउने भन्दै उहाँले कारागार व्यवस्थापन विभागको परिपत्रअनुसार बन्द गरिएको जानकारी दिनुभयो । सार्वजनिकस्थलमा स्थानीय प्रशासनले २५ जना भन्दा बढी जमघट र भेला हुन रोक लगाएको छ ।

उहाँले भन्नुभयो, “दुई कोठालाई क्वारेन्टिनको रुपमा प्रयोग गरिएको छ ।” अहिले क्वारेन्टिनमा १३ कैदीबन्दी रहेका छन् । बाहिरबाट कारागारमा थपिने कैदीबन्दीको सङ्ख्या बढ्दै जाँदा यसलाई थप गर्न सकिने काफ्लेको भनाइ छ ।

२५ जना महिला र २५५ पुरुष कैदीबन्दी राख्ने क्षमता रहेको यस कारागारमा अहिले ७१२ जना रहेका छन् । जसमध्ये ४४५ कैदी तथा २५८ बन्दी छन् । कारागारमा रहेका मध्ये ५० महिला र ६६२ पुरुष हुन् । उनीहरुसँगै दुई आश्रित बालिका छन् । कारागार कार्यालय भरतपुरमा विभिन्न २० मुद्दाका कैदीबन्दी रहेको काफ्लेले जानकारी दिनुभयो ।