माघ १० : पारिवारिक रुपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पुर्याउने चार सहिदको सम्झनामा आजबाट सहिद सप्ताह सुरु भएको छ।
सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीको शालिकमा पुष्पगुच्छा अर्पण गरिएको छ। काठमाडौँको टेकु पचलीस्थित सहिद शास्त्रीलाई प्राणदण्ड दिइएको स्थानमा पुगेर कामपाका प्रमुख विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठसहित पदाधिकारीले पुष्पगुच्छा अर्पण गरेका हुन्।
शुक्रराजको जन्म १९५० सालमा बनारसमा भएको हो। भारतकै देहरादुनस्थित अच्युतानन्दको गुरुकुलबाट प्रारम्भिक शिक्षा सुरु गरेका शास्त्रीले इलाहवादकै आर्य समाज विद्यालयमा केही समय प्रधानाध्यापकका रुपमा काम गरेका थिए।
त्यसक्रममा उनले पटना, दार्जिलिङ, कलकत्तालगायत स्थानमा भएका नेपाली भाषीबीच नागरिक अधिकारका विषयमा सङ्गठन गर्न थालिसकेका थिए। त्यसपछि नेपाल फर्किएका शास्त्रीलाई उपत्यकामा नजरबन्दमा राखिएको थियो । यति हुँदाहुँदै पनि शास्त्रीले १९९४ सालमा असनमा आफ्नै अध्यक्षतामा नागरिक अधिकार समिति गठन गरेका थिए।
यस वर्ष सहिद सप्ताहका अन्य कार्यक्रम माघ १३ गते सिफलमा सहिद धर्मभक्त माथेमाको शालिकमा र १५ गते शोभा भगवतीमा गंगालाल श्रेष्ठ र दशरथ चन्दको सालिकमा पुष्पगुच्छा अर्पण गरी मनाइने कार्यक्रम छ। कोरोना महामारीका कारण यसपटक मन्तव्य कार्यक्रम भने राखिएन।
सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अपनाउँदै सीमित पदाधिकारी उपस्थित भएर शास्त्रीको शालिकमा पुष्पगुच्छा अर्पण गरिएको हो।