राष्ट्रियसभा निर्वाचनको मौन अवधि भित्र के-के गर्न पाइँदैन ?

माघ १०: १२ माघमा तय भएको राष्ट्रियसभा निर्वाचनका लागि आइतबार मध्यराति अर्थात् ४८ घन्टा अगाबै मौन अवधि सुरु भएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न पाइँदैन भने मतदान केन्द्रको ३०० मिटर वरिपरी निर्वाचन चिह्न तथा प्रचार प्रसारका सामग्री राख्न पाइँदैन ।

मौन अवधिमा एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यम प्रयोग गरिने सामाजिक सञ्जालमार्फत पनि मत माग्न र निर्वाचन प्रचार गर्न बन्द गरिएको छ ।

१९ रिक्त पदमा नौ राजनीतिक दलका ४३ जनाको उम्मेदवारी परेको छ ।

आगामी २० फागुनमा एमालेका आठ, एकीकृत समाजवादीका चार, माओवादी केन्द्रका चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिँदैछ । सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ ।