चालु आर्थिक वर्षको ६ महिनामा ४६.६४ प्रतिशतले बढ्यो व्यापार घाटा

माघ १० :  मुलुक आर्थिक संकटतिर उन्मुख भइरहेका बेला अर्को व्यापार घाटा चुलिँदै गएको तथ्यांक सार्वजनिक भएको छ।

आइतबार भन्सार विभागले चालू आर्थिक वर्षको ६ महिनाको वैदेशिक व्यापार आयात तथा निर्यातको अवस्था सार्वजनिक गर्दै मुलुक चरम व्यापार घाटामा गएको जानकारी गराएको हो। भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा व्यापार घाटा ४६.६४ प्रतिशतले बढेको छ।

यसरी ६ महिनामा ४६.६४ प्रतिशतले नेपालको वैदेशिक व्यापार घाटा भएर ८ खर्ब ८० अर्ब ४९ करोड १७ लाख पुगेको छ। गत वर्षको सोही अवधिमा व्यापार घाटा ६ खर्ब ४४ करोड ६१ लाखको भएको थियो। एक वर्षको अवधिमा २ अर्ब ८० अर्ब ४ करोड ५६ लाख रुपैयाँले व्यापार घाटा वृद्धि भएको छ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ६ महिनामा मुलुकको वैदेशिक व्यापार ५४.८६ प्रतिशतले वृद्धि भएर ११ खर्ब १८ अर्ब १९ करोड ३६ लाख पुगेको छ। गत वर्षको सोही अवधिमा ७ खर्ब २२ अर्ब ४५ करोड रुपैयाँ वैदेशिक व्यापार भएको थियो।

त्यस्तै चालु आर्थिक वर्षको ६ महिनामा आयात र निर्यात दुबैमा वृद्धि भएको छ। पछिल्लो ६ महिनामा नेपालमा विभिन्न वस्तु तथा सेवा आयात ९ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख रुपैयाँ बराबरको भएको छ। गत आर्थिक वर्षको सोहि अवधिमा यस्तो आयात ६ खर्ब ६१ अर्ब २४ करोड ५३ लाखको आयात भएको थियो। यसरी गत आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्षको ६ महिनामा ५९ दशमलव १३ प्रतिशतले वृद्धि भएको छ।

भन्सार विभागकाअनुसार चालु आर्थिक वर्षको ६ महिनामा नेपालबाट निर्यात हुने वस्तु तथा सेवामा १ खर्ब १८ अर्ब ८५ करोडको निर्यात गरेको छ। गत आर्थिक वर्षमा यस्तो निर्यात ६० अर्ब ७९ करोड ९२ लाख गरिएको थियो। यो निर्यात गत वर्षको भन्दा ९५.४८ प्रतिशतले वृद्धि भएको छ।

चालू आर्थिक वर्षको ६ महिनामा नेपालमा १४८ देशबाट विभिन्न वस्तु तथा सेवा ९ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख रुपैयाँ बराबरको आयात गरिएको छ। पछिल्लो ६ महिनाको अवधिमा सबैभन्दा धेरै भारतबाट सामान आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ। यसरी सो अवधिमा भारतबाट ६ खर्ब ३ अर्ब ५४ करोड ५१ लाखको सामान आयात भएको छ।