नेपालमा पुरुषभन्दा महिलाको संख्या ६ लाख बढी, जनसङ्ख्या वृद्धिदर घट्दो

माघ १२ : नेपालको राष्ट्रिय जनगणना- २०७८ को तथ्याङ्क अनुसार देशको कुल जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ।

केन्द्रीय तथ्याङ्क विभागले बुधवार सार्वजनिक गरेको प्रारम्भिक नतिजाका अनुसार देशभरि महिलाको सङ्ख्या एक करोड ४९ लाख एक हजार १६९ रहेको छ भने पुरुषको सङ्ख्या एक करोड ४२ लाख ९१ हजार ३११ रहेको छ।

पुरुषभन्दा महिलाको सङ्ख्या छ लाख ९,८५८ जनाले मात्रै बढी छ। नतिजामा ‘अन्य लिङ्गी’हरू समेटिएका छैनन्।विभागका उपमहानिर्देशक हेमराज रेग्मीका अनुसार जनगणनाको पहिलो चरणमा सङ्कलित अन्य लिङ्गीहरूको तथ्याङ्क आठदेखि नौ महिनाभित्र सार्वजनिक गरिनेछ ।

विभागका अनुसार नेपालमा जनसङ्ख्या वृद्धिदर ०.९३ रहेको छ । विसं २०६८ सालको तथ्याङ्कअनुसार उक्त दर १.४० प्रतिशत थियो। तुलनात्मक रूपमा जनसङ्ख्या वृद्धिदर १ प्रतिशतभन्दा कम रहेको विभागका उपमहानिर्देशक रेग्मीको भनाइ छ।

त्यस्तै जनघनत्व १९८ जना प्रतिवर्गकिलोमिटर रहेको तथ्याङ्क छ । एक दशकअघि नेपालमा जनघनत्व १८१ जना प्रतिवर्गकिलोमिटर थियो। यस्तै, आज बुधवार सार्वजनिक तथ्याङ्कअनुसार विदेशमा रहेका नेपालीको सङ्ख्या २१ लाख ६९ हजार ४७८ छ।