बागलुङ कुश्मीशेरा सडक मर्मतका लागि ध्यानाकर्षण

माघ १३ : बागलुङ कुश्मीशेरा सडकखण्डअन्तर्गत गलुवामा पहिरोले क्षति पु¥याएको सडक तत्काल मर्मत गर्न माग गर्दै बागलुङका जनप्रतिनिधिले मुख्यमन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ ।

बुधबार गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका जनप्रतिनिधिले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई ध्यानाकर्षण पत्र बुझाउनुभएको हो ।

प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाको नेतृत्वमा प्रदेशसभा सदस्य सावित्रा राना, बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, जैमिनी नगरपालिकाका प्रमुख ईन्द्रराज पौडेल र एमाले बागलुङका नेता कृष्ण पाठकले ध्यानाकर्षणपत्र बुझाउन मुख्यमन्त्रीको कार्यालय पुग्नुभएको थियो ।

वर्षायाममा सडक हुँदै पहिरो निरन्तर बगेपछि रोकथाम पहिलो आवश्यकता रहेको प्राविधिक समूहको भनाइ थियो । “हिउँदमा काम चलाउन नगरपालिकाले २० लाख खर्चेर अस्थायी सडक बनाएको छ, वर्षाको समयमा यो टिक्दैन”, पौडेलले भन्नुभयो, “यो प्रदेशले विकास गरिरहेकै सडक भएकाले पनि तत्काल योजना बनाएर मर्मतका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराएका छौं ।”

पहिरो नियन्त्रण र सडक मर्मतका लागि बागलुङ नगरपालिकाका इञ्जिनीयरहरुले रु तीन करोड ४३ लाख ६४ हजारको लागत तयार गरेका छन् । बागलुङ कुश्मीशेरा सडकको तीन ठाउँमा पहिरोले ठूलो क्षति पु¥याएको छ । कालीगण्डकी करिडोरको बागलुङ बलेवा खण्ड र त्यसको वैकल्पिक सडकमा पहिरोले क्षति पु¥याएको छ ।