नक्कली पिसिआर रिपोर्ट बनाएर बेच्ने टिचिङ र कान्तिपुर अस्पताल सिल, चार जना पक्राउ

माघ १९: नक्कली पिसिआर रिपोर्ट बनाएर बेच्ने नागरिक कम्युनिटी टिचिङ हस्पिटल र कान्तिपुर अस्पताल प्रहरीले सिल गरेको छ।

प्रहरी टोलीले राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकुका प्रतिनिधिहरू समेतको रोहबरमा दुवै अस्पतालका ल्याबबाट पिसिआर रिपोर्ट बनाउन प्रयोग भएका कम्प्युटर लगायतका उपकरण र पिसिआर टेस्ट दर्ता रजिस्टरहरू समेत नियन्त्रणमा लिइएको महाशाखाले जनाएको छ।

वैदेशिक रोजगारमा जाने व्यक्तिहरूका लागि आवश्यक पर्ने पिसिआर रिपोर्ट १० हजार रुपैयाँमा स्वाबको नमुना समेत नलिई बिक्री गर्ने दुवै अस्पतालका चार जना कर्मचारीलाई प्रहरीले पक्रेको छ। दुई जना फरार रहेका महाशाखाले जनाएको छ।

दुवै अस्पतालका ल्याबहरूले कतिपय व्यक्तिको स्वाब र परीक्षण बिनै नेगेटिभ पिसिआर रिपोर्ट दिने गरेको, ल्याबहरूमा कार्यरत भनिएका विशेषज्ञ चिकित्सकले रिपोर्ट नै नहेरी आफ्नो डिजिटल हस्ताक्षर प्रयोग गरी रिपोर्ट दिने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको महाशाखाको विज्ञप्तिमा लेखिएको छ।

अस्पतालहरूले केही बिचौलियाहरूलाई अस्पतालको कर्मचारी भनी परिचयपत्र समेत बनाई दिई सामूहिक स्वाब सङ्कलन गर्न प्रयोग गर्ने गरेको, सम्बन्धित व्यक्तिको उपस्थिति र स्वाब बिनै बिचौलियाहरूले आफैले आफ्नै स्वाब सङ्कलन गरी विभिन्न व्यक्तिका नाममा ल्याबमा दिने र ल्याबले सहजै पिसिआर रिपोर्ट उपलब्ध गराउने गरेको खुलेको महाशाखाले जनाएको छ।

पक्राउ पर्नेमा धनुषा बिदेह नगरपालिका वडा नं ४ घर भई हाल ललितपुर ग्वार्को बस्ने वर्ष २५ का रोशन कुमार छिट्टान, धनुषा छिरेश्वर घर भई हाल काठमाडौँ गौशाला बस्ने वर्ष २५ का नागेन्द्र यादव, काभ्रेपलान्चोक तेमाल घर भई हाल भक्तपुर सुर्यबिनायक सल्लाघारी बस्ने वर्ष २९ का माधव मैनाली, सर्लाही बलरा घर भई भक्तपुर कौशलटार बस्ने वर्ष २४ का नागरिक हस्पिटलका ल्याब प्रबन्धक प्रसन्न कुमार झा रहेका छन्।

रौतहट राजदेवी बसतपुर घर भई हाल भक्तपुर दुवाकोट बस्ने नागरिक कम्युनिटी अस्पतालका सञ्चालक भावेश मिश्र, काठमाडौँ पेप्सीकोला बस्ने कान्तिपुर अस्पतालका सञ्चालक निर्मल गिरी फरार रहेको महाशाखाले जनाएको छ।

फरार रहेका दुवै ल्याबका सञ्चालक भावेश मिश्र र निर्मल गिरी तथा पिसिआर रिपोर्टमा दस्तखत गर्ने ल्याब चिकित्सकहरूको खोजतलास भइरहेको छ।