रेष्टुरेन्टमा प्रहरीको छापा: तीन किशोरीको उद्धार, तीन जना पक्राउ

फागुन ९ः  कैलालीको धनगढीस्थित एक रेष्टुरेन्टबाट तीन किशोरीको उद्धार गरिएको छ ।

धनगढी उपमहानगर पालिकास्थित रातोपुलमा रहेको टिनटिन रेष्टुरेन्ट एण्ड बारबाट तीन किशोरीको उद्धार गरिएको हो।केही महिनादेखि बन्धक बनाएको गुनासोपछि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रविन विष्टको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुको उद्धार गरेको हो ।

काम गराउने भनेर ल्याएको तर तलब पनि नदिएको, बाहिर निस्कन पनि नदिएको गुनासो आएपछि सो रेष्टुरेन्टमा छापा हानेको जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

सोही गुनासोको आधारमा तीनजना किशोरीको उद्धार गरिएको उनले बताए । रेष्टुरेन्ट सञ्चालकसहित तीन जनालाई नियन्त्रणमा लिइएको डिएसपी जोशीले जानकारी दिए ।

उनीहरुमाथि सोधपुछ र अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ ।