मनाङमा आइतबारदेखि पुनः हिमपात, यातायात अवरुद्ध

फागुन ९: पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले मनाङमा भारी हिमपात भएको छ ।आइतबार बिहानदेखि माथिल्लो मनाङमा भारी हिमपात भएको हो ।

करिब १५ दिनअघि भएको हिमपातपछि अवरुद्ध सडक खुलाउन नपाउँदै आइतबारदेखि पुनःहिमपात भएको छ ।आइतबारदेखि हिमपातपछि यातायात सञ्चालन हुन सकेको छैन ।

यहाँको सडकको हिउँ हटाउन नपाउँदै हिमपात भएसँगै समस्या भएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए । उनका अनुसार मनाङको चामे र यस वरपरको तापक्रम माइनस ७ डिग्री सेल्सियस पुगेको छ ।

‘यहाँ पुनःहिमपात भएपछि सवारीसाधन चल्ने अवस्था छैन । भारी हिमपातले सवारी आवागमन अवरुद्ध भएको छ’, आचार्यले भने, ‘जनजीवन भने सामान्य रहेको छ ।

मनाङ ङिस्याङ गाउँपालिकाको खाङ्सार, टङ्की र मनाङ च्याखु, भ्राका, मुङ्जे, घ्यारु, ङाबल, हुम्डे, पिसाङ, नार्पाभूमि गाउँपालिकाको नार, फू, क्याङ तथा च्याखु गाउँका साथै सदरमुकाम चामे बजार क्षेत्रसहित कोतो, थानचोक, तिमाङ र नासों गाउँपालिकाको तिल्चे, नाचे, ताचे, ओडार गाउँ, घेराङ गाउँ, घेलाञ्चोक गाउँ, थोंचे, धारापनी र तालगाउँमा भारी हिमपात भएको छ ।