सर्लाही खण्डको चारकोसे झाडीमा ५ दिनदेखि डढेलो,स्याउलाको भरमा निभाउन गाह्रो

चैत्र १ : सर्लाही खण्डमा पर्ने चारकोसे झाडीमा पाँच दिनदेखी लगातार डढेलो लागिरहेको छ ।

हरिपुर नगरपालिका १ मा पर्ने जानकीनगर साझेदारी वन, हरिवन नगरपालिका ६ मा पर्ने घुर्कैली वन, फुलजोड साझेदारी वन र उत्तरी चुरेका वन क्षेत्रमा लगातार डढेलो लागिरहेको छ ।

हावाहुरी र सुक्खा मौसम भएकाले डढेलो अहिलेसम्म निभाउन नसकिएको हो । हिउँदयाम सुरु भएसँगै यस क्षेत्रको जङ्गलमा बर्सेनी डढेलो लाग्ने गरेको स्थानीयवासीले बताएका छन् । डढेलो निभाउन स्थानीय सामुदायिक वनले अग्नि नियन्त्रण रेखा बनाए पनि राष्ट्रिय वन र साझेदारी वनले डढेलो निभाउन कुनै पूर्वतयारी गरेका छैनन् ।

डढेलो निभाउनका लागि पूर्वतयारी नहुँदा हिउँद महिनामा धेरै वनजङ्गलमा क्षति पुग्ने बिहानी सामुदायिक वन उपभोक्त समितिका अध्यक्ष दिनेशराज थापाले बताउनुभयो । चारकोसे झाडीको जङ्गल र चुरेको वनमा डढेलो लाग्न थालेपछि त्यस क्षेत्रमा बसोबास गर्दै आएका धेरै रैथाने वन्यजन्तु सुरक्षित वासस्थानको खोजी गर्दै हिँड्न थालेका छन् ।

‘डढेलो निभाउन वन कार्यालय र सब–डिभिजन वन कार्यालयसँग साधन छैन, हावाहुरी सुरु भएपछि प्रत्येक वर्ष डढेलो लाग्छ, हामीसँग आगो निभाउन दक्ष जनशक्ति पनि छैनन् । माटो र स्याउलाको भरमा डढेलो निभ्दैन’, सहायक वन अधिकृत सुवास साह भन्नुहुन्छ ।

सुक्खा मौसममा लाग्ने डढेलोले वन्यजन्तु, बोटबिरुवा, वनस्पति, जडीबुटी र काठ–दाउरालगायत जैविक विविधता तथा पर्यावरणीयमा समेत क्षति पुर्‍याउने गरेको विज्ञहरूको भनाइ छ ।

सामुदायिक वन उपभोक्ता महासङ्घका पूर्व केन्द्रीय सदस्य तथा हरिवन नगरपालिका ९ का वडाध्यक्ष सीताराम पोखरेलका अनुसार , ‘वन संरक्षणमा स्थानीय पालिकाले राम्रोसँग चासो दिन सकि रहेको छैन । पालिकास्तरमा वातावरण संरक्षणका लागि गठन भएका समितिहरू प्रायः निष्क्रिय जस्तै छन्, डढेलो निभाउन पालिकासँग पर्याप्त स्रोत–साधन पनि छैन ।