चैत १० सर्वोच्च अदालतको संवैधानिक इजलासले संवैधानिक परिषद्सम्बन्धी र त्यसका आधारमा भएका नियुक्तिविरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बुधबार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीहरु मिरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा उक्त मुद्दाको सुनुवाइमा अन्तरिम र कारण देखाउ आदेश जारी भएको सर्वाेच्चका प्रवक्ता बिमल पौडेलले बताएका छन् । साथै नियुक्त भएका ५२ जनै पदाधिकारीका नाममा म्यादजारी गरी सुनुवाइको मौका दिने आदेश भएको पौडेलले बताए । सो आदेश अनुसार निवेदकलाइ ५२ जनाको वतन खुलाउन भनिने र वतन खुले पछि उनिहरूको नाममा चाँडै म्याद जारी हुने बताइएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा संवैधानिक परिषद्को सिफारिसमा नियुक्त भएका ५२ जना पदाधिकारीको नियुक्ति खारेजीको माग गर्दै अधिवक्ता डा. गणेश रेग्मीले सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए । यसअघि २०७८ भदौ १७ गते न्यायाधीश हरि फुयाँलको एकल इजलासले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको नियुक्तिसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित गर्न आदेश दिएको थियो ।
न्यायाधीश फुयाँलको उक्त अन्तरिम आदेशका कारण संवैधानिक पदाधिकारीको नियुक्तिविरुद्ध परेको मुद्दा अघि बढ्न सकेको थिएन ।


















