उपत्यकामा मौसम किन धुम्मियो स्थानीय वायु सक्रिय,केहीँ ठाउँमा पानी पर्ने

चैत्र १३ः अहिले काठमाण्डौ उपत्यका सहित देशका केही पहाडी क्षेत्रको मौसम धुम्मिएको छ ।

विषेशगरी वाग्मती प्रदेश, प्रदेश नम्बर एक र गण्डकी प्रदेशका पहाडी क्षेत्रको मौसम धुम्मिनुका साथै केही ठाउँमा पानी परिरहेको मौसमविद् हिरा भट्टराई बताउनुहुन्छ ।

उहाँका अनुसारको काठमाण्डौका केही ठाउँमा फाट्टफुट्ट पानी परेको छ । अरू ठाउँमा पनि केहीबेरमा पानी पर्ने सम्भावना रहेको छ। जमिन तातेर स्थानीयस्तरमै बनेको हावाको प्रभावका कारण पहाडी क्षेत्रमा मौसम धुम्मिएको उहाँ बताउनुहुन्छ ।

स्थानीय हावाकै प्रभावका कारण अहिले केहीबेरमा बाग्मती प्रदेश, एक नम्बर प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित पानी पर्ने सम्भावना छ ।

काठमाण्डौ उपत्यकामा वायुमण्डलमा भएका धुँवा र धुलोका कणलाई हावाले राम्ररी उडाएर लैजान नसकेकाले मौसम बढी धुम्म देखिएको मौसमविद् भट्टराईको भनाइ छ ।