राष्ट्रपतिद्वारा काष्ठमण्डपको लोकार्पण

चैत २१ः राष्ट्रपति विद्यादेवी भण्डारीले काष्ठमण्डपको लोकार्पण गरेकी छन् । राष्ट्रपतिले पुरातात्त्विक महत्त्वको ऐतिहासिक सम्पदा काष्ठमण्डपको सोमबार काठमाडौंमा लोकार्पण गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले काठमाडौं उपत्यकालाई विश्वमै प्रकृति र संस्कृतिको सङ्गम थलोको रुपमा मानिएको उल्लेख गर्दै प्रकृतिको संरक्षण हुने गरी विकास निर्माणको कामलाई अघि बढाउन सम्बन्धित पक्षलाई विशेष महत्त्व दिन आग्रह गरेकी थिइन् ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले जनप्रतिनिधिहरूले आफूलाई सदैव जनताको सेवामा समर्पित गर्नुपर्ने बताएकी छन् । उनले आफ्नै स्रोत, साधन र सीपको परिचालन गरी काष्ठमण्डप पुनर्निर्माणको काम गर्नु राष्ट्रकै लागि खुसीको विषय भएको बताइन् ।

‘जनताबाट छानिएको प्रतिनिधिबाट विकासका कार्यहरू संचालन भई जनताका दैनिक आवश्यकताहरूको प्रत्यक्ष सम्बोधन हुनु नै लोकतन्त्रलाई संस्थागत गर्ने सबैभन्दा ठूलो माध्यम हो‚’ उनले भनिन् ।