बैशाख २३ : ललितपुरको रातो मच्छिन्द्रनाथको रथलाई आज मङ्गलबजारबाट तानेर सुन्धारा पुर्याइँदैछ । हिजो रथलाई गाबहालबाट तानेर मङ्गलबजार पुर्याइएको हो । आज दिउँसो ४ बजेपछि रथलाई मङ्गलबजारबाट तानेर सुन्धारामा पुर्याइनेछ ।
हरेक वर्ष मङ्गलबजारबाट तानेर रथलाई हखामा पुर्याइएपछि काठमाण्डौको बज्रशील महाविहार इकुबहालका राजभण्डारीले रथमा सेतो कपडाको पताः चढाउने चलन छ ।
पहिले मङ्गलबजार नजिकै व्हखु नामको नदी भएको र त्यही नदी तार्ने क्रममा रातो मच्छिन्द्रनाथको धोती फेर्ने चलनको रुपमा मङ्गलबजारको हखा अगाडि रथ पुगेपछि विशेष पूजा गरेर पताः चढाउने गरिन्छ ।
लिच्छविकालमा काठमाण्डौ उपत्यकामा पानी नपरेर अनिकाल भएकोले अहिलेको भारतको आसाममा पर्ने कामरुकामाक्षबाट रातो मच्छिन्द्रनाथलाई काठमाण्डौ उपत्यकामा ल्याएको र त्यसपछि सहकाल सुरु भएको किंवदन्ती छ ।
यसैबीच, रातो मच्छिन्द्रनाथको रथ यात्राका कारण आज मङ्गलबजार र महापाल क्षेत्रमा गाडी डाइभर्सन गरिएको छ । पाटन, मङ्गलबजार चल्ने गाडीलाई पुल्चोकबाट डाइभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।


















