जजीरा एअरवेजले कतार र साउदीबाट गौतम बुद्ध विमानस्थलमा उडान भर्ने

बैशाख २९ : जजीरा एअरवेजले कतार र साउदी अरबबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीन वटा उडान भर्ने भएको छ ।
बुद्ध जयन्तीको शुभ–अवसर पारेर जेठ २ गते सोमबार औपचारिक उद्घाटन हुने नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा जजीरा एअरवेज उडान भर्न लागेको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार पहिलो उडान सोही दिन तथा आगामी १२ जुन २०२२ देखि दोहाबाटसमेत साताको तीन वटा नियमित उडान सुरु गर्ने तालिका सार्वजनिक गरेको जनाएको छ । दोहा–कुवेत र कुवेत–भैरहवा उडान गर्नेछ । टिकट लगायत अन्य विस्तृत जानकारीका लागि उक्त एयरलाइन्सको कतारस्थित कार्यालयमा ४४२७१०१०÷३०७०१०४२ सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ ।

यस्तै साउदी अरबबाट पनि जजिरा एयरवेजले नियमित उडान सञ्चालन गर्ने भएको छ । एयरवेजले साउदी अरबको रियाद, दमाम, जेद्दा र मदिना सहरबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा आगामी मे १५ तारिखदेखि उडान गर्ने रियादस्थित नेपाली दूतावासले जनाएको छ ।