जेठ ९: काठमाडौं महानगरपालिकाको सोमबार मध्याह्नसम्मको मतगणनामा मेयर पदका स्वतन्त्र उम्मेदवार दिएका बालेन साहको अग्रता कायमै रहेको छ । राष्ट्रिय सभागृहमा मत गणना जारी रहेको अवस्थामा बालेन भने विभिन्न कार्यक्रममा सहभागी हुँदै आएका छन् ।
यस्तैमा सोमबार उनी फिल्म ‘चिसो मान्छे’को कार्यक्रममा समेत पुगेका छन् । निर्माण युनिटले ट्रेलर सार्वजनिक गर्न आयोजित कार्यक्रममा उनले नेपाली कलालाई अन्तर्राष्ट्रियकरण गर्दै निर्माण गर्नुपर्ने धारणा राखे । कार्यक्रममा आफू मेयर भएर आए फिल्मसहित कला संस्कृतिको समेत संरक्षण गर्ने बताए ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बालेनलाई मेयर निर्वाचित भएमा फिल्मलाई लगाउँदै आएको ५ प्रतिशत स्थानीय कर मिनाहा गर्न आग्रह गरेका थिए । जसको जवाफमा बालेनले कोरोनाले थलिएको फिल्म क्षेत्रलाई राहत दिन आफू मेयर भएर आए एक वर्षसम्मका लागि २ प्रतिशत कर मिनाहा गर्ने बताए ।


















