स्थानीय तह निर्वाचनमा १४ हजार ४ सय २ महिला जनप्रतिनिधि निर्वाचित

जेठ १३ : पालिका चुनाव–२०७९ मा ५५ हजार ६ सय ९९ महिला उम्मेदवार रहेकोमा १४ हजार ४ सय २ महिला निर्वाचित भएका छन् । तीन वटा पालिकामा प्रमुख र उपप्रमुख नै महिला निर्वाचित भएका छन् । झापाको गौरीगञ्ज गाउँपालिका प्रमुखमा फूलवती राजवंशी र उपप्रमुखमा पूजन न्यौपाने कुँवर, दैलेखको भैरवी गाउँपालिकाको प्रमुखमा रीता शाही र उपप्रमुखमा देवि भण्डारी र कैलालीको लम्कीचुहा नगरपालिकाको मेयरमा सुशीला शाही र उपमेयरमा जुना चौधरी निर्वाचित भएका छन् ।

प्रदेशगत रुपमा महिला निर्वाचित सङ्ख्या प्रदेश -१ मा २ हजार ४ सय ५५ जना, मधेस प्रदेशमा २ हजार ७ सय ७० जना, वाग्मतीमा २ हजार ३ सय ४७ जना निर्वाचित भएका छन् ।

यस्तै, गण्डकी प्रदेशमा १ हजार ६ सय २२, लुम्बिनी प्रदेशमा २ हजार १ सय २४, कर्णाली प्रदेशमा १ हजार ५ सय २४ जना र सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय ६० जना महिला निर्वाचित भएका निर्वाचन आयोगको पछिल्लो तथ्याङ्क छ । देशभरबाट २५ वटा पालिका प्रमुखमा महिला निर्वाचित भएका छन् ।