जेठ २३ : काठमाडौँ महानगरपालिकाको कल सेन्टर (गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र) आजदेखि सञ्चालनमा आएको छ । नवनिर्वाचित जनप्रतिनिधिले पदबहाली गरेपछि जेठ १६ गते बसेको पहिलो कार्यपालिका बैठकले ७ दिनभित्र कल सेन्टर सञ्चालन गर्ने निर्णय गरेको थियो । निर्णय कार्यान्वयन गर्दै आजदेखि राष्ट्रिय सभा गृहमा केन्द्र सञ्चालन गरिएको हो ।
महानगरसँग कुनै गुनासो गर्नु छ भने वा केही सोधपुछ गर्नु छ भने निःशुल्क टेलिफोन नं.१६६००१ ०५५११ मा सम्पर्क गर्न सकिनेछ । कल सेन्टरमा कसैले टेलिफोन गरेपछि त्यो सीडीआर (कल डिटेल रेकर्ड) महानगरको सर्भरमा रेकर्ड हुने व्यवस्था गरिएको छ ।
गुनासो वा सोधपुछकर्तासँग कुरा गर्दागर्दै अपरेटरले उनीहरुको फोन नं, फोन गरेको समय, गुनासो वा सोधपुछको विवरण, भौगोलिक नक्साजस्ता आधारभूत विवरण सफ्टवेयरमा भर्छन् । त्यसमा गुनासो वा सोधपुछसँग सम्बन्धित अधिकारीको विवरण पनि भरिन्छ ।
विवरण भरिसकेपछि प्रणालीले स्वचालित रुपमा गुनासो सुनुवाई गर्ने अधिकारी, प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलाई एसएमयस र इमेल पठाउँछ । इमेलमा गुनासोकर्ताको आवाज, समस्यासँग सम्बन्धित तस्विर, भौगोलिक नक्सा तथा विवरण समावेश हुन्छ ।
महानगरको सेवा, महानगरका वडा, विभाग, आयोजना तथा एकाईसँग सम्बन्धित सोधपुछ तथा गुनासा, महानगरीय सेवा तथा सुविधा वितरणसँग सम्बन्धित काम तथा महानगरसँग भएका अपेक्षा सम्बन्धि गुनासा तथा सोधखोजका लागि यो प्रणाली स्थापना गरिएको हो ।
















