निहारिकाको मुद्दामा तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्न सांसद थापाको माग

असार १ : नेकपा एमालेकी सांसद थममाया थापाले दुधे बालक काख च्यापेर अनशनरत निहारिका राजपुतको मुद्दामा तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेकी छिन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद थापाले एउटी आमाले दूध चुसाउँदै आमरण अनशन बस्नुपर्ने कुरा आउनु नै लज्जास्पद भएको बताइन् ।

उनले दिनानुदिन महिला हिंसाको दर बढिरहेको भन्दै नेपाली चेलीहरूमाथिको हिंसा न्यूनीकरण गर्न सरकार पूरै असफल भएको बताएकी छिन् । ‘हाम्रो समाजमा हजारौँ महिलाहरू यस्तै समस्याबाट गुज्रिरहेका छन् । भ्रुण हत्या गर्ने, औषधि सेवन गर्ने र आफ्नै ज्यान जोखिममा पार्ने बाध्यात्मक अवस्थामा छन् ।

आज छ दिन भइसकेको छ, उनको स्वास्थ्य अवस्था राम्रो छैन । सरकार अत्यन्तै गैरजिम्मेवारीपूर्ण अवस्थामा बसेको छ, यसको छानबिन होस्, सत्यतथ्य पत्ता लगाइयोस् र दोषीलाई कारबाही गरियोस्,’ उनले भनिन् ।