सेयर बजार घट्ने क्रम जारी, आज नेप्से २९ अंकले घट्यो

असार १ : सेयर बजार घट्ने क्रम जारी छ। बुधबार पनि नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ। आज नेप्से २९.८९ अंकले घटेर १९६६.३७ विन्दुमा पुगेको छ।

सेयर कारोबारको तेस्रो दिन बुधबार २९ अंकले ओरालो लागेको सेयर बजारमा १ अर्ब ४९ करोड बढीको सेयर कारोबार भयो। यसअघि कारोबारको तेस्रो दिन मंगलबार नेप्से ३६.०८ अंकले घटेर १९९६.२५ विन्दुमा झरेको थियो। यसअघि कारोबारको पहिलो दिन सोमबार नेप्से १५.८२ अंकले घटेर २०३२.३४ विन्दुमा बन्द भएको थियो।सोमबार ९९ करोड ८६ लाख र मंगलबार १ अर्ब १८ करोड ५५ लाख बढीको सेयर कारोबार भयो।

बुधबार भने कारोबार रकममा सामान्य सुधार आएको छ। यसदिन १ अर्ब ४९ करोड बढीको सेयर कारोबार भयो। यसदिन सेन्सेटिभ इन्डेक्स ४.६० अंकले घटेर ३७८.९० विन्दुमा अडिएको छ।

दोहोरो अंकले घटेको सेयर बजारमा २ कम्पनीको सेयर मूल्य १० प्रतिशत हाराहारीमा कारोबार भयो। सीवाईसी लघुवित्त वित्तीय संस्था र आँधीखोला लघुवित्त वित्तीयको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको हो।

यस्तै दुई कम्पनीको सेयर मूल्य ८ प्रतिशत बढीले घटेको छ। बलेफी हाइड्रो पावर र लाइफ इन्सुरेन्स कर्पोरेसनको सेयर ८ प्रतिशत बढीले घटेको हो।

यसदिन कारोबारमा आएका १३ समूहको सूचक नकारात्मक देखिएको छ। ट्रेडिङ, हाइड्रोपावर, फाइनान्स, लाइफ इन्सुरेन्स र इन्भेस्टमेन्ट समूहको २.४२ प्रतिशतले घट्यो।

यस्तै बैंकिङ, डेभलपमेन्ट बैंक,नन लाइफ इन्सुरेन्स, मनु एन्ड प्रो र माइक्रो फाइनान्स मूल्य १ प्रतिशत बढीले ओरालो लाग्यो।