असार २ : चितुवाको आक्रमणबाट मृत्यु भएका पाँच वर्षीय सुप्रिम बगाले मगरको परिवारलाई बन्दीपुर गाउँपालिकाले रु ५० हजार प्रदान गरेको छ । गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले मृतकका बुबा प्रेम बगाले मगरलाई सो रकम हस्तान्तरण गरे।
चितुवाको आक्रमणबाट मङ्गलबार तनहुँको बन्दीपुर गाउँपालिका–१ बोडिस्वाँरामा सुप्रिमको ज्यान गएको थियो । उनी घर नजिकैको जङ्गलमा मृत फेला परेका थिए । गत आइतबार पनि सोही वडामा एक बालिका र एक पुरुष चितुवाको आक्रमणबाट घाइते भएका थिए ।
तनहुँमा हालसम्म १२ बालबालिकाको चितुवाको आक्रमणबाट ज्यान गइसकेको छ ।


















