असार १३ : काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित भएका छन्। न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच इच्छाराज तामाङको मुद्दाको विषयलाई लिएर भएको घुस बार्गेनिङको अडियो बाहिरिएपछि न्यायपरिषद् बैठकले छानबिन समिति बनाएर उनलाई निलम्बित गरेको हो।
छानबिन समिति गठन बारेको सूचना सोमबार राजपत्रमा प्रकाशित भएसँगै उनी निलम्बनमा परेका हुन् । राजपत्रमा प्रकाशित सूचनामा न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच भएको भनिएको टेलिफोन संवाद र सोसँग सम्बद्ध तथ्यहरु सम्बन्धमा तथा कोइरालाले आचरण र कर्तव्यको इमान्दारीपूर्वक पालना नगरेको लगायतका विषयमा छानबिन गर्न समिति बनाइएको उल्लेख छ ।
छानबिन समितिमा उच्च अदालत पाटनका कायम मुकायम मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मा पौडेल सदस्य रहेका छन्। न्यायपरिषद् ऐनअनुसार छानबिन समिति गठन भएपछि आरोपी न्यायाधीश स्वतः निलम्बित हुन्छन्।


















