प्रदेश नं १ लाई ‘चिया विशेष क्षेत्र’ घोषणा गर्न सरोकारवालाहरुको माग

असार १३ : प्रदेश १ लाई ‘चिया विशेष क्षेत्र’ घोषणा गर्न सरोकारवालाले माग गरेका छन् । विदेशी मुद्रा आर्जन गर्ने प्रदेशकै मुख्य बाली भएकाले यसको समग्र समस्या समाधान तथा प्रवर्द्धनका लागि चिया विशेष क्षेत्र घोषणा आवश्यक रहेको उनीहरुको भनाइ छ ।

आवश्यक नीति निर्माण गरी प्रदेश १ लाई चिया विशेष क्षेत्र घोषणा गर्दै चियालाई कृषि, पर्यटन र उद्योगमार्फत अन्तर्राष्ट्रिय क्षेत्रसम्म जोड्नुपर्नेमा उनीहरुको जोड छ । मुलुकमा उत्पादितमध्ये ९५ प्रतिशत चिया प्रदेश १ मा उत्पादन हुने भएकाले पनि चिया विशेष क्षेत्र घोषणा आवश्यक रहेको उनीहरुको दाबी छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय झापाका निमित्त प्रमुख सुमन त्रिखत्रीले ९५ प्रतिशतभन्दा बढी चिया प्रदेश १ मै उत्पादन हुने भएकाले विशेष क्षेत्र घोषणाले चिया क्षेत्र प्रवद्र्धनमा महत्त्वपूर्ण अर्थ राख्ने बताए । उनले सरकारले विभिन्न बालीलाई प्रोत्साहन गर्ने गरी सुपर जोन, जोन, ब्लक, पकेटजस्ता कार्यक्रम लागू गरेजस्तै विदेशी मुद्रा आर्जन गर्ने चियालाई पनि कुनै विशेष प्याकेजअन्तर्गतको कार्यक्रममा समेटेर लानुपर्ने सुझाव राखे ।

नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेश मित्तलले छिमेकी मुलुक भारतमा पछिल्लो समय चिया पर्यटन राम्रो फस्टाएकाले नेपालमा पनि उक्त कार्यको थालनी हुनुपर्नेमा जोड दिए । उनले चिया क्षेत्रमा दशकौंदेखिका समस्या सुनुवाइ नभएको अवस्थामा विशेष क्षेत्र घोषणाले त्यस्ता समस्या समाधान हुनुपर्ने बताए ।

जिल्लास्थित राजनीतिक दलका प्रमुखहरुले समेत चिया क्षेत्रका समस्याको दिगो समाधानका लागि आवश्यक नीति निर्माण गरी प्रदेशलाई चिया विशेष क्षेत्र घोषणा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

साना चिया किसान हर्क तामाङले चिया क्षेत्र जोगाउन सबै मिलेर अघि बढ्नुको विकल्प नरहेको बताए । उनले चियामा देखिएका समस्याको समाधान तथा मुलुकको हितमा हुने गरी चिया क्षेत्रलाई अघि बढाउनुपर्ने गरी नीति निर्माण आवश्यक रहेको धारणा राखे ।