शेयर बजार निरन्तर ओरालो गतिमा, आज ११.८२ अङ्कले गिरावट

असार १४ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लाग्यो । लगातार ओरालो लागेको नेप्से परिसूचक केही थामिएको जस्तो देखिए पनि पुनः ओरालो यात्रामा नै निरन्तर कायम छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार मङ्गलबार नेप्से परिसूचक ११.८२ अङ्कले ओरालो लागेर एक हजार ९२१.३१ मा ओर्लिएको छ । त्यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.२२ अङ्कले ओरालो लागेर ३७२.६० मा ओर्लेको छ ।

कूल २३० कम्पनीको ३० लाख ३७ हजार ६३० कित्ता शेयर रु एक अर्ब पाँच करोड ८२ लाख ४६ हजार ४७२ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने ११ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ ।

बैंकिङ ०.२९ र जीवन बीमा उपसमूह ९६.९ अङ्कले उकालो लाग्यो । त्यस्तै, व्यापार १४, होटल तथा पर्यटन १७.९२, विकास बैंक ४३.८३, जलविद्युत् ३६.१३, वित्त २२.०४, निर्जीवन बीमा १०९.९६, उत्पादन ४८.४, अन्य १३.७९, लघुवित्त ३८.७९ सामूहिक लगानी कोष ०.०६ र लगानी १.०६ अङ्कले उकालो लाग्यो ।