आगामी निर्वाचनमा विद्युतीय मतदान मेसिन प्रयोग गर्न निर्वाचन आयोगको प्रस्ताव (विज्ञप्तिसहित)

असार १६ :  आसन्न प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनमा विद्युतीय मतदान मेसिनको प्रयोग गर्न निर्वाचन आयोगले सरकारसमक्ष प्रस्ताव गरेको छ। आज आयोगका सहायक प्रवक्ता उपसचिव सूर्यप्रसाद अर्यालले एक विज्ञप्ति जारी गर्दै आगामी निर्वाचनमा इभिएमको प्रयोगमा जान भन्दै प्रस्ताव पठाइएको जानकारी दिएका छन्।

आयोगले यसअघि स्थानीय तहकै निर्वाचनमा इभिएमको प्रयोग गर्न विज्ञसहितको समिति गठन गरेको थियो। उक्त समितिले नेपालमा बनेका इभिएमको प्रमाणिकरण गर्न अर्को समिति बनाउन सुझाव दिएको थियो। समयको अभाव हुँदा स्थानीय तहको निर्वाचनमा इभिएमको प्रयोग गर्न नसकेको सहायक प्रवक्ता अर्यालले बताए।

आयोगले गठन गरेको समितिको प्रतिवेदनबारे आवश्यक निर्णय गर्नको लागि गृह मन्त्रालयमार्फत् मन्त्रिपरिषदमा पठाइएको उनले बताए।अर्यालका अनुसार नेपालमा बनेका विद्युतीय मतदान यन्त्र प्रमाणिकरण भइसकेका छैनन्। त्यसैले नेपालमा बनेको मेसिन प्रयोग गर्न नसकिए विदेशमा प्रयोग भएका मेसिन भए पनि उपलब्ध गराउन आयोगले माग गरेको हो।

आयोगले सरकारसँग साउन मसान्तसम्ममा मेसिन उपलब्ध गराउन लेखी पठाएको हो।