अमेरिकाले युक्रेनलाई ८२ करोड डलर बराबरको थप सैन्य सहयोग गर्ने

असार १९ : अमेरिकाले युक्रेनलाई ८२ करोड डलर बराबरको थप नयाँ सैन्य सहयोग गर्ने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुससंगको युद्धमा संघर्ष गरिरहेको युक्रेनलाई थप सैन्य सामाग्री उपलब्ध गराउने घोषणा गरेका हुन् ।

नयाँ सैन्य सहयोगमा जमिनबाट आकाशमा प्रहार गर्ने क्षेप्यास्त्र प्रणाली र राडारसहितका अरू युद्ध सामाग्री रहेका छन्। पछिल्ला दिनमा रुसले युक्रेनमा दर्जनौं क्षेप्यास्त्र प्रहार गरेर त्यहाँको जनजीवन अस्तव्यस्त पारेपछि अमेरिकाले युक्रेनलाई नयाँ सैन्य सहयोग गर्ने घोषणा गरेको हो।

रुसले युक्रेनी सेनामाथि जताततै घण्टौँसम्म तोपगोलाले लगातार आक्रमण गरिरहेको छ। यसअघि युक्रेनले सार्वजनिक रूपमा पश्चिमा सहयोगीहरूलाई तत्काल थप गोला बारुद र आधुनिक हातहतियार उपलब्ध गराउन आह्वान गरेको थियो।