जल तथा ऊर्जा आयोगले देशभरको पानीको अभिलेख राख्ने

असार १९ : जल तथा ऊर्जा आयोगले देशभरको पानीको अभिलेख राख्ने भएको छ। काठमाडौंमा आयोजित जल तथा ऊर्जा आयोगको सचिवालयको आयोजनामा जलस्रोत व्यवस्थापन तथा सेवासम्बन्धी कार्यशालामा सो जानकारी दिइएको हो ।

आयोगले देशभर कुन क्षेत्रमा कति र कस्तो पानी उपयोग भइरहेको छ भनेर एकीकृत रूपमा अभिलेख राख्ने छ । आयोगले सरोकारवालालाई चाहिए अनुमति दिनेगरी अभिलेख राख्ने भएको छ।

अनुमति दिँदा सबैभन्दा पहिले खानेपानी पर्नेछ। त्यसपछि खेती किसानका लागि सिँचाइ राखिएको छ। खानेपानी, सिँचाइ, मत्स्यपालन, जलविद्युत्लगायत क्षेत्रमा उपयोग हुने पानीको अभिलेख राख्दै प्राथमिकताका आधारमा आयोगले अनुमति दिने भएको हो।

आयोगले समष्टिगत रूपमा पानीको अभिलेख राख्नेगरी नीति बनाउन विभिन्न विज्ञ सम्मिलित समूहसमेत गठन गरेको छ। पानी र जलवायु परिवर्तनका विषयमा संघ, प्रदेश र स्थानीय तहमा जलाधार व्यवस्थापनका लागि आयोगले पहल गर्ने भएको छ।

पानीको स्रोत संरक्षणका लागि स्थानीय तहलाई जिम्मेवारी दिने, खोला, नदीनाला, वातावरण बचाउन जोड दिइने भएको छ। तीनै तहका सरकारले संविधानले दिएको अधिकारबमोजिम समन्वय गरी जलस्रोत संरक्षण गर्ने बताइएको छ।