बोरामा आलुसँगै राखिएको ८३ लाख रकम सहित २ जना पक्राउ

असार २१ : धनुषा प्रहरीले बोरामा आलुसँगै राखिएको ८३ लाख रुपैयाँ बरामद गरेको छ । भारतबाट बोरामा आलुसँगै ल्याउँदै गरेको स्रोत नखुलेको सो रकम बरामद गरिएको प्रहरीले जनाएको छ ।

धनुषाको जनकनन्दनी गाउँपालिका-१ इनर्वामा भारतबाट मोटरसाइकलमा राखेर ल्याउँदै गरेको बोरामा ८३ लाख ६४ हजार ५ सय रुपैयाँ बरामद गरिएको छ ।

ज७प ५००७ नम्बरको मोटरसाइकलमा बोरामा स्रोत नखुलेको रकम ल्याउने जनकनन्दनी गाउँपालिका ५ का १९ वर्षीय राजेश मण्डल र ३६ वर्षीय ईश्वर मण्डललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बरामद रकम र पक्राउ परेका दुबै जनालाई थप अनुसन्धानका लागि भन्सार कार्यालय जनकपुरमा बुझाइएको छ ।