विराटनगर महानगरपालिकाका पूर्वउपमेयर सहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

असार २४ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङको विराटनगर महानगरपालिकाका तत्कालीन नगर उपप्रमुख इन्दिरा कार्की सहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

विराटनगर महानगरपालिका १५ स्थित रानी हेल्थपोष्ट नजिकैको पोखरीमा पार्क (सिँढी) निर्माणमा गैरकानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको पुष्टि गर्दै अख्तियारले शुक्रबार कार्की सहित प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, इन्जिनियर, वडाध्यक्ष र उपभोक्ता समितिका अध्यक्षसमेत ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनीहरुविरुद्ध विगो मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार भ्रष्टाचार आरोपितमा नगर उपप्रमुख कार्की, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अधिकारी, सहरी विकास महाशाखा प्रमुख इन्जिनियर गोपाल पोखरेल, इन्जिनियर पुष्पक प्रधान र सवइन्जिनियर इफतेखार आलम छन् ।

यस्तै पोखरीमा पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष बलदेव शाहु सुडी, सचिव दिनानाथ आचार्य र कोषाध्यक्ष कल्पना घिमिरेमाथि पनि भ्रष्टाचार मुद्दा लागेको छ । महानगरपालिकामा पेस भएको झुट्टा डोरहाजिर, गलत नापी किताब, भुक्तानी बिल र कार्य सम्पन्न प्रतिवेदनका आधारमा ती कागजातहरु स्वीकृत गरी भुक्तानी दिएर आरोपितहरूले १० लाख ५५ हजार ९७९ रुपैयाँ हानी पुर्‍याएको बताइएको छ ।