असार २६ः सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) औपचारिक फुट नजिक पुगेको छ।

जसपामा दुई अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराईबीचको विवाद पार्टी विभाजनसम्म पुगेको हो । यादव र भट्टराईले छुट्टाछुट्टै केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका छन्।
यादवले असार २९ र ३० गतेका लागि वीरगन्जमा केन्द्रीय समिति बैठक बोलाएका थिए । त्यसपछि संघीय परिषद् अध्यक्ष भट्टराई पक्षले भने काठमाडौंमा असार २८ र २९ मा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका छन्।
काठमाडौंमा बस्ने बैठकमा भट्टराईले समसायमिक राजनीतिक विषयमा राजनीतिक प्रतिवेदन पेस गर्ने उनी निकट नेता विश्वदीप पाण्डेले जानकारी दिएका छन्। भट्टराई पक्षले बैठक बोलाउने तयारी गरेपछि यादव पक्षमा रहेका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले गैरजिम्मेवार व्यक्तिको विधान विपरीत निर्णय भनेर आपत्ति जनाएका छन्।
अध्यक्ष यादवले भने वीरगन्जमा केन्द्रीय समिति बैठक बोलाएका छन् । त्यसपहिले नै दुवैबीच एउटै पार्टीमा रहन सक्ने अवस्था नरहेको भन्दै सहमतिमै अलग–अलग बाटो लाग्ने भन्ने तय भएको थियो। यसबीचमा जसपाका दोस्रो तहका नेताहरूले विभाजन रोक्ने प्रयास गरे पनि दुवै पक्षले केन्द्रीय समिति बैठकबाट पछि हटेका छैनन् ।


















