अब सबै स्थानीय तहले फोहोर वर्गीकरण गर्नुपर्ने निर्णय

साउन २८ः काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)  को अध्यक्षतामा आज राष्ट्रिय सभा गृहमा बसेको बैठकले फोहोरको वर्गीकरण गर्ने बारे छलफल गरेको छ । उपत्यकाका साझा समस्या पहिचान र समाधानका उपाय निकाल्ने विषयमा बैठक बोलाइएको थियो ।

बैठकको मुख्य विषय दिगो फोहोरमैला व्यवस्थापन थियो । वैठक सुरु गर्दै प्रमुख शाहले भने, ‘उपत्यकाका पालिकाहरुमा केही साझा र केही भिन्न समस्याहरु छन् । यीमध्ये फोहोरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन, खानेपानी वितरणजस्ता साझा समस्याका रुपमा रहेका विषयलाई संयुक्त प्रयासबाट समाधान निकालौँ ।

फोहोर व्यवस्थापनका लागि परम्परागत विधिबाट काम थाल्ने विषयमा प्रमुख शाहले भन्नुभयो, ‘घरघरबाट उत्पादन भएको फोहोर स्रोतमै बर्गीकरण गरेपछि जैविक फोहोरलाई मल बनाउने विधि सबैभन्दा उपयुक्त देखिएको छ । यो विधि शतप्रतिशत प्रभावकारी छ । फोहोरलाई ग्याँसका रुपमा रुपान्तरण गर्दा ३० देखि ३५ प्रतिशत मात्र प्रभावकारी देखियो ।

अर्थात् १ सय रुपैयाँ लगानी गर्दा ३० देखि ३५ रुपैयाँ मात्र फिर्ता आउने भयो । यस्तै विजुली निकाल्दा २० देखि २५ प्रतिशतसम्म मात्र उत्पादन फिर्ता लिन सकिने भयो । जैविक फोहोरलाई मल बनाउन करिब २ सय देखि २ सय ५० रोपनी जग्गा आवश्यक पर्छ । यसका लागि सहकार्य गरौँ ।’

प्रमुखहरुले भनेका छन , ‘साझा संकल्प गरौँ ।’बैठकमा फोहोर व्यवस्थापनको दिगो समाधानका लागि स्रोतमा बर्गीकरण गर्नुपर्ने, उत्पादनमा कमी ल्याउने विधि अपनाउनु पर्ने, प्लाष्टिकको विकल्पमा झोलाहरुको प्रयोग बढाउनुपर्ने, शुन्य फोहोर ९जिरो वेस्ट० अवधारणाको प्रवर्धन गर्नुपर्ने, उपत्यकाभित्र फोहोर व्यवस्थापनको विधि एउटै हुनुपर्ने जस्ता धारणा आएका थिए ।

त्यस क्रममा उहाँहरुले उपत्यका नगरपालिका फोरमलाई सक्रिय बनाएर उपत्यकालाई कस्तो बनाउने भन्ने चित्रका लागि एकीकृत विकासको गुरुयोजना बनाउनु पर्ने बताउनुभयो । पानी पुनभरण, जिम्मेवारीका विषयमा नागरिक सचेतना, नदी किनारामा करिडोर बनाउने, नदीको सरसफाइ गर्ने, सडक सञ्जाल र ट्राफिक व्यवस्थापन जस्ता विषयमा साझा संकल्प आवश्यक छ ।

बैठकमा महानगरकी उपप्रमुख सुनिता डंगोलले, एउटै भूगोलभित्र रहेका भिन्न पालिकाहरुका फरक र साझा समस्या बुझ्नका लागि आजको बैठक आयोजना गरिएको बताएका छन्। ‘पालिकाहरुले सञ्चालन गर्ने कार्यक्रम समुदायले स्वीकार गर्न सक्ने खालको हुनुपर्छ । यसका लागि नगरपालिकाहरुले गरेका कामका विषयमा जानकारी लिने अवसरका रुपमा आजको बैठकलाई लिनुपर्छ ।’ उपप्रमुख डंगोलको भनाइ थियो ।