असार ३२ : वर्षा नभएपछि महोत्तरीमा धान रोपाइँ हुन सकेको छैन। महोत्तरीबाहेकका मधेसका अन्य जिल्लामा पनि सिञ्चितबाहेकका आकाशे पानीको भरका खेतमा रोपाइँ हुन नसकेको हो।
मध्य असारमा धान रोप्न हिल्याइएका खेत अहिले सुकेका छन्। ब्याड पनि लगातार पानी नपाउँदा पहेँलिन थालेको किसानले बताएका छन्। असार सिद्धिनै लाग्दासम्म धान रोपाइँले गति लिन नसकेपछि किसान यसपालि अन्नको सङ्कट पर्ने चिन्ताले पिरोलिएका छन् । मुख्य बाली धान नै रोप्न नसकिएपछि परिवार कसरी पालन गर्ने भन्ने चिन्ताले यहाँका किसानलाई पिरोलेको छ ।
मध्य असारअघिको वर्षाको पानीले एक झमट रोपाइँमा लागेका किसान त्यसयता खेतमा पानी सुकेपछि चिन्तामा परेका हुन् । असार सकिनै लाग्दा धान रोपाइँ जिल्लामा एकतिहाई नाघेको छैन ।
जिल्लामा अहिलेसम्म ३३ प्रतिशत मात्र रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र महोत्तरी, जलेश्वरले नै जनाएको छ । रोपो पनि सुकेको छ । खेतमा धाँजा फाट्दै छ । जिल्लामा कूल ७० हजार खेतीयोग्य जग्गामध्ये लगभग ५० हजार हेक्टर धानखेतीका लागि योग्य मानिन्छ ।
जिल्लाका १० प्रतिशत जग्गामा स्थायी सिँचाइको प्रबन्ध छ । बिहानैदेखि चर्कने घामको प्रचण्ड राप र सँगसँगैको तातो हावाले कृषि मजदुर काममा निस्कन छाडेका छन् ।


















