असार ५ः निर्वाचन आयोगमा दर्ताका लागि आवश्यक कागजपत्र बोकेर पुगेको ‘चिया पार्टी’ लाई आयोगले दर्ता नगरी फिर्ता पठाइ दिएको छ । आयोगले पार्टीको नाम हलुका देखिएको र झण्डामा गाँजाको सात वटा पात राखेका कारण देखाउँदै फिर्ता पठाएको जनाएको छ ।
सडकदेखि सदनसम्म सबैतिर चिया पाक्ने गरेको र चियाले तल्लो तप्काका मान्छेदेखि माथिल्लो तहका मान्छेहरूलाई समेट्ने भएकोले पार्टीको नाम चिया पार्टी राखिएको एक प्रतिनिधिले जानकारि दिएका छन् । चिया सामाजिकीकरण गर्ने, सबैको समान पहुँचको माध्यम भएकोले पनि चिया पार्टी गठन गरिएको उनको भनाई छ ।
उनले आयोगसंग निकै रोचक संवाद भएको समेत उल्लेख गरेका छन् । आयोगले आफुहरुसंग ‘हामीलाई जिस्क्याउन आउनुभयो कि क्या हो ? भनेर प्रश्न गरेको बताउदै चिया पार्टी दर्ताका लागि गएपछि आयोगका पदाधिकारी आश्चर्य मानेको बताएका छन।
चिया पार्टीको झण्डा संविधानको भावना विपरित भएकोले पार्टी दर्ता नगरी फिर्ता पठाइदिएको आयोगको भनाई छ । गाँजाको पात सहितको झण्डा आफैमा गैरकानुनी रहेको उनले बताएका छन्। राजनीतिक दलप्रति वितृष्णा बढ्नु स्वभाविक भएपनि जे मन लाग्छ त्यही पार्टी खोल्ने कुरा राम्रो पक्ष नरहेको आयोगको भनाई छ ।
उक्त पार्टीका एक सदस्यका अनुसार उक्त पार्टीमा २१ सदस्य रहेको बताएका छन त्यसमध्येमा सबै नेताहरु ४० वर्षभन्दा कम उमेर समूहका यूवाहरु रहेको भनाई छ । साथै पार्टीमा ५० प्रतिशत महिला सहभागिता रहेको, डाक्टर, इन्जिनियर, विभिन्न पेशामा आवद्ध व्यक्तिहरु पार्टीमा आवद्ध रहेको उनी बताउछन्। पार्टीको नाम परिवर्तन गरेर एक केही दिनमा पार्टी दर्ताका लागि जाने श्रोतको भनाई छ ।


















