नदीमा बस खस्दा कम्तीमा २४ जनाको मृत्यु

साउन ९ : नदीमा बस खस्दा केन्यामा आइतबार कम्तीमा २४ जनाको मृत्यु भएको छ।

राजमार्गमा कुदिरहेका बेला आइतबार बेलुका बस नदीमा खसेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। घटना भएको थाहा पाउने वित्तिकै सुरक्षाकर्मी, उद्धारकर्ता र स्थानीय बासिन्दा घटनास्थलमा पुगेर उद्धारमा खटिएको त्यहाँका स्थानीय मिडियाहरुले लेखेका छन् ।

देशको मध्य भागमा पर्ने मेरुबाट राजधानी नैरोवीतर्फ गइरहेको बेला बस निथी नदीमा खसेको हो। बस राजमार्गबाट ४० मिटर तल खसेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्।

दुर्घटनामा परेका अरु २० भन्दा बढी यात्रुलाई स्थानीय विभिन्न अस्पतालमा उपचार गराइएको छ। ती मध्ये केहीको अवस्था गम्भीर रहेको स्वास्थ्यकर्मीहरुले जानकारी दिएका छन्।