झुलाघाट महाकाली भन्सारबाट निर्यात शून्य

साउन १० :सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको मुख्य नाकाको रुपमा रहेको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयको नाकाबाट गत वर्ष निर्यात शून्य भएको छ।

आर्थिक वर्ष २०७८/ ७९ मा चिनी, दाल, भाँडाकुँडा, कपडा, बिँडी, चप्पल लगायत सामानहरु बढी आयात भएका थिए । रु ८१ लाख २१ हजा३१४ को सामान भित्रिएकामा निर्यात भने शून्य रहेको हो ।

यस नाकाबाट कुनै पनि सामान निकासी नभएको भन्सार कार्यालयले जनाएको छ । केही वर्षअघिसम्म घ्यू निर्यात हुने गरेकामा गत वर्ष त्यो पनि निर्यात भएन।

कार्यालयका अनुसार साउन महिनामा भारतबाट रु आठ लाख ५५ हजार ५२०, भदौमा रु १० लाख ५३ हजार ९०३ असोजमा, रु १३ लाख ३४ हजार ९८३, कात्तिकमा रु नौ लाख १९ हजार ३८२, मङ्सिरमा रु १० लाख ५५ हजार २२, पौषमा रु दुई लाख ३८ हजार ३६३ को सामान आयात भएको थियो।