साउन १३ः नेपालमा बाघको सङ्ख्यामा बृद्धि भएको छ ।

सन् २०१८ को तथ्याकंमा २ सय ३५ वटा बाघ रहेकोमा त्यसयता बढेर ३ सय ५५ पुगेको छ । पछिल्लो ४ वर्षमा १ सय २० वटा बाघ थपिएका छन् ।
अन्तर्राष्ट्रिय बाघ दिवसको अवसर पारेर काठमाण्डौमा भएको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले बाघ संरक्षणको तथ्याङ्क सार्वजनिक गर्दै बाघको सङ्ख्या ३ सय ५५ पुगेको जानकारी दिनुभएको हो ।
तथ्याङ्क अनुसार सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा १ सय २८ बाघ छन् । बर्दिया राष्ट्रिय निकुञ्जमा १ सय २५, पर्सा राष्ट्रिय निकुञ्जमा ४०, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३८ र बाँके राष्ट्रिय निकुञ्जमा २५ बाघ रहेको तथ्याङ्कमा उल्लेख छ ।
पछिल्लो पटक नेपालमा गएको मंसिरदेखि फागुनसम्म बाघ गणना भएको थियो ।
सन् २००९ मा भएको गणना अनुसार नेपालमा बाघको सङ्ख्या १ सय २१ थियो । सन् २०१० मा रूसको सेन्ट पिटर्सवर्गमा भएको विश्व बाघ सम्मेलनमा नेपालले सन् २०२२ भित्र नेपालमा बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएको थियो । तर यसअवधिमा बाघको सङ्ख्या दोब्बरभन्दा पनि धेरैले बढेको छ ।
बाघलाई संसारभर प्रतिकात्मक प्राणीको रूपमा लिने गरिन्छ । प्राकृतिक सम्पदाको रूपमा रहेको बाघलाई सांस्कृतिक तथा ऐतिहासिक दृष्टिकोणले पनि महत्त्वपूर्ण मानिन्छ । बाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ तारिखलाई बाघ दिवसका रुपमा मनाइन्छ ।


















