मनसुनी प्रणाली सक्रिय मंगलबारसम्म देशको अधिकांश स्थानमा वर्षाको सम्भावना

साउन १५ : आगामी मंगलबारसम्म देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ ।

मनसुनी प्रणाली सक्रिय रहेकाले आगामी मंगलबारसम्म देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत मौसमविद् हीरा भट्टराईले बताए । हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ ।

विभागले देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा प्रदेश नं १, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ का थोरै स्थानमा र बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । रातको समयमा देशका पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रही  वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।