खोटाङमा बिहान गएको भूकम्पको क्षति विवरण संकलन गरिदै

साउन १५ : खोटाङमा बिहान गएको भूकम्पबाट हालसम्म कुनै मानवीय क्षतिको विवरण प्राप्त नभए पनि केही पुराना घरमा भने सामान्य क्षति पुगेको जनाइएको छ।

साकेला गाउँपालिका–५ को मात्तिमबिर्तालाई केन्द्रबिन्दु बनाएर बिहान ८ बजेर १३ मिनेट जाँदा ६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धानले बताएको हो। भूकम्पको धक्का काठमाडौं उपत्यकासम्म महशुस गरिएको थियो।

भूकम्पका कारण कति घरमा केकस्तो क्षति पुग्यो भनी विवरण संकलन कार्य जारी रहेको खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईले बताउछन् भूकम्पबाट खोटाङको साकेलाका केही घर चर्किएको विवरण प्राप्त भएको उनले जानकारी दिए।

भूकम्पले भोजपुरस्थित टक्सारमा रहेका केही घरमा क्षति पुर्याएको जनाइएको छ। भूकम्पको केन्द्रबिन्दु रहेको स्थलमा सुरक्षाकर्मी पुगिसकेको जनाइएको छ। भूकम्पका कारण केही घरमा क्षति पुगेका तस्बिरहरू प्राप्त भएका छन्।

हाल उक्त स्थान आसपासमा के कति क्षति भएको हो भन्नेबारे खोजतलास तथा अनुसन्धान भएको प्रहरीको भनाई छ , हालसम्म त्यस्तो ठुलो मानविय तथा भौतिक क्षति भने देखिएको छैन ।