नेपालका मुक्त हलिया आन्दोलनका नेता राजुराम भुल प्रकाश मानव अधिकार पुरस्कार २०७९ द्वारा पुरस्कृत भएका छन्। नेपालको मानवअधिकारको अभियानमा करिब ३ दशकभन्दा लामो समयदेखि क्रियाशिल अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) ले साउन १६ गते काठमाडौँमा एक औपचारिक कार्यक्रम गरी उनलाई सम्मान गरेको हो।
भुल त्यही व्यक्ति हुन् जो हलिया मुक्तिका लागि हलो बोकेर सिंहदरबार घेर्न अगुवाइ गरेका थिए। राजुराम भुलको संघर्षका कारण २०६५ भाद्र २१ गते नेपाल सरकारले राजुराम भुलको नेतृत्वमा राष्ट्रिय मुक्तहलिया समाज महासंघ नेपालसँग ५ बुँदे सम्झौतामा हस्ताक्षर गरेर हलियामुक्तिको औपचारिक घोषणा गरेको थियो।
भुल नेपालको हलिया मुक्ति आन्दोलनको एक सफल नेतृत्व, राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालका पूर्व केन्द्रीयअध्यक्ष, दलित भूहि अधिकार युनियनका सुदूरपश्चिम प्रदेश संयोजक तथा राष्ट्रिय कृषी बधुवा मजदुर संघर्ष समितिका सहसंयोजक पनि हुन्।
नेपाली समाजमा व्याप्त शोषण, उत्पीडन, सामाजिक विभेद अन्त्य र मानव अधिकारको रक्षाका लागि भुलले गरेको योगदानको मुल्याकंन भएको भन्दै प्रशंसा पनि भइरहेको छ।

















