साउन १८ः प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ ।

आज बुधवार आयल निगमको प्रधान कार्यालय अगाडि अनेरास्ववियु वाग्मती प्रदेश उपत्यका विशेष कमिटीले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गर्न माग गर्दै विरोध प्रदर्शन गरेको हो ।
अनेरास्ववियुले विरोध प्रदर्शनसँगै निगमलाई स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गर्न माग ज्ञापनपत्रसमेत बुझाएको छ । पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा घटेको र भारतीय आयल कर्पोरेशन ९आईओसी० ले नेपाललाई मूल्य घटाएर पठाउँदासमेत नेपाल आयल निगमले समायोजन नगरेको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।
अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष आरसी लामिछानेले पेट्रोलियम पदार्थको स्वचालितरूपमा मूल्य समायोजन नभएसम्म विरोधका कार्यक्रम जारी राखिने बताउनुभयो । उहाँले अहिले सिंहदबारभित्र बसेर आयल निगम सक्ने गरी निजीकरणको तानामान बुन्दै गरेको आरोप पनि लगाउनुभयो । लामिछानेले जनताको पक्षमा निर्णय गर्न चुक्न नहुने बताउनुभयो ।


















