लोसपालाई पनि सत्ता गठबन्धनमा समेट्नेबारे छलफल, सरकारमा पनि सहभागी होला?

एमालेविरुद्धको गठबन्धनलाई अझ फराकिलो बनाउने क्रममा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई समेत सरकारमा सामेल गर्नेबारे छलफल भएको छ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा लोसपालाई सरकारमा सहभागी गराउने र चुनावी गठबन्धनमा लोसपा पनि सातौँ दलका रूपमा सहभागी हुनेबारे सकारात्मक कुराकानी भएको नेता राजेन्द्र महतोले बताए ।

लोसपाको समेत मागबमोजिम नागरिकता विधेयक पारित भएको र मधेस आन्दोलनका कैदी रिहा गर्ने बारेमा पनि प्रधानमन्त्री सकारात्मक रहेको महतोले बताए । उनले लोसपा गठबन्धन सरकारमा सामेल हुने सम्भावना रहेको बताएका छन् ।

आइतबार साँझको भेटमा लोसपा अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो, सरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण सहभागी थिए । भेटमा सरकारका प्रवक्ता तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की पनि थिए ।