समानुपातिकतर्फ १ करोड ५ लाख ६० हजार मतगणना, रास्वपा र जनमत पार्टीले गुमाए एक–एक सिट

काठमाडौं । मंसिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक प्रणाली अन्तर्गत भएको मतगणना अन्तिम चरणमा पुगेको छ । प्रतिनिधि तथा प्रदेशसभाको प्रत्यक्षतर्फको अन्तिम परिणाम आइसकेको छ ।

हालसम्मको १ करोड ५ लाख ६० हजार ६७ सामानुपातिक तर्फको मतगणनामा हुँदा एमालेले २८ लाख ४५ हजार ६४१ मत पाएको छ ।

जसअनुसार एमालेले समानुपातिकमा ३४ सिट पाउने पक्का भएको छ । यस्तै २७ लाख १५ हजार २२५ समानुपातिक मत पाएको कांग्रेसले ३३ सिट पाउने निश्चित भएको छ ।

यस्तै ११ लाख ७५ हजार ६८४ मत पाउँदा समानुपातिकमा माओवादी केन्द्रले १४ सिट, ११ लाख ३० हजार ३३४ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट, ५ लाख ८८ हजार ८४९ मत पाउँदा राप्रपाले ७ सिट, ४ लाख २१ हजार ३१३ मत पाएर जनता समाजवादी पार्टीले ५ सिट र ३ लाख ९४ हजार ६५५ मत पाई जनमत पार्टीले ४ सिट पाउने भएको हो ।

दोलखाको मतगणना अघि रास्वपाले १४ र जनमत पार्टीले ५ सिट पाउने देखिएको थियो भने एमालेले ३३ र कांग्रेसले ३२ सिट पाउने देखिएको थियो ।

हाल बाजुरा जिल्लाको समानुपातिक तर्फको मतगणना कार्य भइरहेको छ । भोलिसम्म गणना सकिने भएपनि दलहरुले हालसम्मको अवस्थामा पाउने सिटमा तलमाथि नहुने निर्वाचन आयोगले जनाएको छ ।