निजगढ विमानस्थलको निर्माण प्रक्रिया छिट्टै सुरु गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानास्थलको निर्माण प्रक्रिया छिट्टै अगाडि बढाउने बताएका छन् ।

आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानास्थलको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले निजगढ अन्तर्राष्ट्रिय विमानास्थलको विषय पनि उठाएका हुन् ।

उनले भने, ‘पोखरामा तेस्रो विमानस्थल सञ्चालनमा अएको छ। अब छिट्टै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु गर्नेछौ ।’

सोही क्रममा प्रधानमन्त्री प्रचण्डले तेस्रो विमानस्थल सञ्चालनमा आएसङ्गै पोखरा सिधै अन्य मुलुकसँगको पहुँचमा जोडिएको बताए ।

पोखरा विमानस्थल सञ्चालनमा आएसँगै पोखराको विकास र समृद्धिको चाहना थप मजवुत भएको समेत उनले बताए ।

यस्तै आफ्नो जन्मभूमि समेत कास्की भएकाले यस क्षेत्रको विकासका लागि प्रधानमन्त्रीको रुपमा थप पहल गर्ने प्रधानमन्त्रीको भनाई छ ।

निजगढ विमानस्थलबारे सर्वोच्च अदालतले दिएको आदेशपछि निर्माण अघि बढाउनेसम्बन्धमा अन्योल छ ।

सरकारले गठन गरेको विज्ञको समूहले बाराको निजगढमै विमानस्थल बनाउन सकिने निर्षकर्ष सहितको प्रतिवेदन सरकारलाई पेश गरिसकेको छ ।