टोटनहम घरेलु मैदानमै एस्टन भिल्लासँग स्तब्ध

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा आइतबार एस्टन भिल्लासँग टोटनहम घरेलु मैदानमै २–० ले स्तब्ध बनेको छ । टोटनहम हट्सपर रंगशालामा एस्टन भिल्लालाई जित दिलाउन इमी बोन्डिया र डग्लस लुइसले गोल गरे ।

खेलको ५० औँ मिनेटमा बोन्डियाको गोलमार्फत पाहुमा टिम एस्टन भिल्लाले अग्रता लिएको थियो । पहिलो हाफमा एक गोल गरेको एस्टन भिल्लाले दोस्रो हाफमा पनि एक गोल नै थप्यो ।

७३ औँ मिनेटमा लुइसले गोल गर्दै एस्टन भिल्लाको अग्रतालाई २–० म पुर्‍याए । हारसँगै टोटनहमले तालिकाको चौथो स्थानमा उक्लिने मौका गुमायो । १७ खेलबाट ३० अंक जोडेको टोटनहम तालिकाको पाचौँ स्थानमा छ ।

तालिकाको चौथो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले १६ खेलबाट ३२ अंक जोडेको छ । यता जितसँगै १७ खेलबाट २१ अंक जोडेको एस्टन भिल्ला भने तालिकाको १२ औँ स्थानमा छ ।