बढ्यो चिसो, काठमाडौंको तापक्रम ३.६ डिग्री सेल्सियस

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान प्रदेश–१ र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा आंशिक बदली रहेको छ । देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

काठमाडौंमा आज बिहान पौने ६ बजेको तापक्रम ३.६ डिग्री सेल्सियस रहेको छ । दिउँसो १९ देखि २१ डिग्री सेल्सियस पुग्ने मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् । उनका अनुसार काठमाडौंमा आज दिनभर मौसम सफा रहनेछ ।

आज दिउँसो प्रदेश–१ का पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

विभागले आज राति वाग्मती प्रदेश, मधेस प्रदेश, प्रदेश–१ का पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेको जनाकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।