काठमाडौं, जेठ १६ । टिकापुर घटनाको सन्दर्भमा कानूनको परिभाषा जान्ने विज्ञहरुले व्याख्या गर्लान् । तर, निर्दोष मान्छेलाई बर्षौ जेलमा सढाई राख्नु कानूनी परिभाषाको पूर्ण परिचय हुन्छ की हुँदैन ? त्यो पनि विद्वान साथीहरुलाई सोधिदिनु पर्छ । अस्ति मात्रै साढे सात वर्ष जेल बसेर सम्मानीय अदालतले हाम्रा मित्र सन्तराम चौधरीलाई रिहा ग¥यो । उहाँ बजारमा मासु किन्न जानु भएको थियो । उहाँलाई समातियो । र, जेल हालियो ।
धेरै साथीहरु बजारमा तरकारी बेच्दै थिए । कोही रिक्सा चलाउँदै थिए । कोही घाइतेलाई आफ्नै रिक्सामा राखेर उपचार गर्न लग्दै थिए । पोलिएकै भरमा कसैले, भनेकै भरमा यो दुर्भाग्यपुर्ण घटनाको फैसला गरिनु दुखःदायी बिषय हो । अहिले पनि म भन्छु धरातलमा गएर उच्चस्तरीय छानविन कमिटी बनाइनुपर्छ । टिकापुर घटना कुनै बन्द कोठामा गरिएको होइन । टिकापुर घटनालाई हजौरांै आँखाले साक्षात रुपमा देखेका छन् । कसले कस्लाई मा¥यो ? कसले कसलाई भाला रोप्यो ? कस्ले कस्लाई खुकुरीले छप्कायो ? त्यो स्थानीय साक्षी र नाङ्गा आँखाले देख्नेहरु बोल्लान् ।
मलाई रिहा गरेकोमा सरकारलाई धन्यवाद छ । सरकारले गर्ने काम सरकारले ग¥यो । सम्मानित अदालतले गर्ने काम अदालतले ग¥यो । तर, म तपाईहरुले सोधेको प्रश्नमा भन्छु भने टिकापुर घटनाको कथा अर्कैै थियो । पटकथा अर्कै लेखियो । र, फिल्म अर्कै बन्यो ।
यो पटक कथा सार्वजनिक गर्नुपर्छ । तर, कतिपय यस्ता भित्रि पाटो हुन्छन् जसको भित्रि पाटो देखाइन्न । जस्तै, टिकापुर घटना भइरहँदा मेरो घरमा आगो लगाउनेहरुको, मेरो एफएम जलाउनेहरुको, मेरो रिसोर्टमा धुवाँ फुक्नेहरुको, मेरो लत्ताकपाडा, पुरातात्विक बस्तु जलाउनेहरुको करिब साँढे तीन सय फोटो मसँग छन् ।
त्यसमध्ये, सय जना जति म चिन्दछु । के म अब उनीहरुको घरघर गएर मेरो सामाग्री फिर्ता गर, नत्र जे पनि गर्छु भनेर थर्काउँ ? अब यसो हुँदैन । हामी जनप्रतिनिधि हौं । स्थानीय नागरिकको समस्या समाधा गर्ने हाम्रो दायित्व हो । तर, यहाँ भनिए जस्तो कथा कोरिनु पर्छ । फिल्म बनिनुपर्छ । अलिकति भए पनि दर्शकलाई यसको आभास दिलाउँनै पर्छ ।
घटनाका पीडितसँग पक्कै पनि पीडा होला । तीन बर्ष रेशम चौधरीले भारतीय बजारमा टेम्पो चलाउँदा, आफनो नाङ्गो टाउकोमा दारुको पेटी बोक्दा, होस्टेलको वार्डेन बन्दा मलाई पनि पीडा नै भयो होला । जेलामा म बिरामी भएर उपचार गर्न जादा मेरो खुट्टामा लगाइएको २१ किलोको नेलले पनि भन्छ होला रेशम तँलाई जरुर पीडा भयो । पीडा उहाँहरुलाई पनि छ । पीडा हामीलाई पनि छ । पीडा हजारौ चेलीहरुलाई छ । टिकापुर घटनाको बारेमा मान्छेले कतिको नियालेको छ ? सयौ चेली हिंसामा पर्नु भएको छ । ७०÷ ८० वर्षको बुबाआमाले पिटाइ खानु भएको छ । सयौं घरहरुमा आगो लगाइएको छ । हजारौको श्रीसम्पति लुटिएको छ । यो घटनाको छानविन गर्दा दुवै पक्षका पीडितलाई जरुर मलम पट्टि लागेको महसुस भएको होला ।
साहदत प्राप्त गर्ने सहिदप्रति नागरिक उन्मुक्ति पार्टी र थारुहट आन्दोलनको पक्षबाट भावपूर्ण श्रद्धान्जली छ । उहाँहरुले न्याय पाउनुपर्छ । उहाँहरु र हामीबीच अन्तरक्रिया गरिनुपर्छ । उहाँहरुले हामीलाई दोषी देख्दै हुनुहुन्छ । हामी भन्दै छौं, जो दोषी छ, उसले त सजाय पाउँदै पाएन । जो दोषी थियो, ऊ त मन्त्री बन्यो । जो दोषी थियो, उसलाई त राज्य उपहार दियो । पुरस्कार दियो । यस्तो दुर्भाग्यपूर्ण घटना नहोस् । उहाँहरुले जो समक्ष न्यायको याचना गरिरनु भएको छ । उहाँहरुले कतै पीडा दिनेहरुको घरको ढोका त ढक्ढकाई रहनु भएको छैन ? यो गम्भिर बिषय हो ।
लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिनुपर्छ । हामीले सम्मानित अदालतको फैसलालाई स्वीकार गरेर जेलमा जिवन बितायौं । सम्मानित अदालतले गरेको फैसलालाई सरकारले मान्ने की नमान्न ? आखिर त्यस्तो रहस्य के छ ? जसलाई सार्वजनिक गर्न सकिँदैन । किन लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिँदैन ? रहस्मय घटना त छ नी ? आयोगको प्रतिवेदन सार्वजनिक गरिनै पर्छ । त्यो नै उन्मुक्तिको फैसलाको पाटो हो ।


















