अमेरिकी राष्ट्रपति ट्रम्प सहभागी ह्वाइट हाउस संवाददाताको आयोजना गरेको रात्री भोजमा गोली चल्यो

अमेरिकामा शनिबार राति आयोजित ह्वाइट हाउस संवाददाताको रात्रिभोजका क्रममा गोली चलेको छ । गोली चलेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पसहित देशका शीर्ष नेताहरूलाई तत्काल सुरक्षित रूपमा बाहिर निकालिएको छ ।

घटना वाशिङ्टनस्थित हिल्टन होटलमा भएको वार्षिक रात्रिभोजका क्रममा भएको हो। कार्यक्रम सुरु भएर भाषण चलिरहेकै बेला करिब राति ८ः४० बजे आसपास मुख्य सुरक्षा जाँच क्षेत्रतर्फबाट लगातार गोली चलेको आवाज सुनिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। त्यसपछि हलभित्र रहेका सयौं पाहुना टेबलमुनि लुकेका थिए भने केहीलाई सुरक्षाकर्मीले जमिनमा सुत्न निर्देशन दिएका थिए।

घटनापछि अमेरिकी गोप्य सुरक्षा सेवाका अधिकारीहरू तुरुन्तै सक्रिय भएका थिए। उनीहरूले राष्ट्रपति ट्रम्प, प्रथम महिला मेलानिया ट्रम्प, उपराष्ट्रपति जेडी भान्स तथा अन्य मन्त्रीहरूलाई मञ्च क्षेत्रबाट हटाएर सुरक्षित स्थानतर्फ लगेका थिए। केही सेकेन्डमै हलको मुख्य भाग खाली गराइएको थियो।
प्रारम्भिक जानकारीअनुसार एक सशस्त्र व्यक्तिले मुख्य प्रवेशद्वार नजिक सुरक्षा घेरा तोड्ने प्रयास गर्दै गोली चलाएको थियो। एक सुरक्षा अधिकारीको बुलेट रोक्ने ज्याकेटमा गोली लागेको जनाइएको छ, तर उनी सामान्य अवस्थामा रहेको बताइएको छ। संदिग्ध व्यक्तिलाई घटनास्थलमै नियन्त्रणमा लिइएको छ।

कार्यक्रममा करिब २ हजार ६ सय पत्रकार, राजनीतिज्ञ, व्यवसायी तथा विशिष्ट व्यक्तिहरू सहभागी थिए। गोली चलेपछि कार्यक्रम केही समय रोकिए पनि पछि आयोजक समितिले पूर्ण रूपमा स्थगित गर्ने निर्णय गरेको थियो। आयोजकहरूले आवश्यक सुरक्षा मूल्यांकनपछि पुनः अर्को मितिमा कार्यक्रम गर्ने बताएका छन्।

घटनापछि राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत आफू सुरक्षित रहेको जानकारी दिएका छन्। उनले सुरक्षाकर्मीको प्रशंसा गर्दै उनीहरूले छिटो र साहसी ढंगले काम गरेको भन्दै धन्यवाद व्यक्त गरेका छन्। साथै दोषीमाथि कानुनी कारबाही हुने संकेत गरेका छन्।

यो घटना अमेरिकाको राष्ट्रपतीय सुरक्षा व्यवस्थामाथि फेरि प्रश्न उठाउने खालको मानिएको छ। एउटै स्थानमा राष्ट्रपति, उपराष्ट्रपति र धेरै उच्च अधिकारीहरू उपस्थित रहेका बेला सुरक्षा घेरा नजिकै गोली चल्नु गम्भीर सुरक्षा कमजोरीका रूपमा हेरिएको छ।