मोबाइलमा ‘रिङ ब्याकटोन’ बजाउँदैमा छुवाछुत अन्त्य हुँदैन : सांसद अनिशा नेपाली

काठमाडौं ,जेठ २४। जातीय छुवाछुत अन्त्य गर्न अहिलेको सदनबाट ठोस निर्णय गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद अनिशा नेपालीले माग गरेकी छन् । प्रतिनिधि सभाको बुधबार बसेको बैठकको शून्य समयमा उनले दलित समुदायका हक र अधिकार संविधानको धारा र नारामै सिमित भएको भन्दै यस्तो माग गरेकी हुन् ।

शून्य समयमा बोल्दै उनले भनिन्, ‘सम्माननीय सभामुख महोदय, भर्खरै जेठ २१ गते जातीय छुवाछुत तथा उन्मुलन दिवस मोवाइलमा रिङ व्यागटोन बजाइयो । भन्दा जातीय छुवाछुत सामाजिक रुपमा निन्दनीय र कानूनी रुपमा दण्डनीय छ भनेर भनिन्छ ।

दलित समुदायका हक र अधिकार संविधानको धारा र नारामै सिमित छन् । तर पनि अहिलेसम्म समाजमा जातीय विभेदको अन्त्य भएको छैन । संविधानको धारा २४ र ४० को उपधारा १ देखि ६ र धारा ४२ सम्म दलित हक भनेर मौलिक हक भनेर उल्लेख भए पनि जातकै कारण धेरैले ज्यान गुमाउनुपरेको छ । ऐन अनुमोदन भएपछि छुवाछुत विरुद्धको कानून बलियो हुन सकेको छैन । र दलित समुदायले छुवाछुतको युगिन दासत्व र अन्यायको चपेटामा बाचिरहनुपरेको छ । त्यसैले जातीय छुवाछुत अन्त्य गर्न अहिलेकै सदनबाट ठोस निर्णय गर्नका लागि अनुरोध गर्न चाहान्छु ।’